राष्ट्रिय

सोह्रश्राद्ध आजदेखि प्रारम्भ

हरि पन्त
प्रत्येक वर्ष आश्विनकृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज शनिबारदेखि सुरु हुँदैछ । आज शनिबार बिहान ८ बजेर ४१ मिनेटपछि सोह्रश्राद्ध प्रारम्भ हुँदैछ । चान्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष रहेका हुन्छन् । यी २४ पक्षमध्ये आश्विनकृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ ।
१ पक्षमा १५ तिथि हुने भए पनि भाद्रशुक्ल पूर्णिमादेखि आश्विन औंशीसम्मका वा जमरे औँसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ ।
यस श्राद्धमा ४ जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरूप कुशको ब्राम्हण थापिएको हो । पहिले–पहिले पार्वण श्राद्ध गर्दा ४ जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राखिएको हो ।
दुवैपट्टि २÷२ ब्राम्हणलाई क्रमशः विश्रदेव र पितृ ब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राम्हण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राम्हणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ ।
श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ । तर, घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरी अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ । हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यवहारिक रूपमा आफ्नो जीवनमा उतार्ने प्रयास गर्नु अति जरुरी हुन्छ ।
श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आआफ्नो गच्छेअनुसार श्राद्धसाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । ‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘देश काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे’ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबारे के प्रष्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो ।
श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ । ‘पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता’ अर्थात् पितृहरूलाई शुद्ध मन्त्र, शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पअनुसार पनि प्रेत र पितृलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । त्यसैले आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् ।
भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ ः यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । यसैगरी दोस्रो वार्षिक एकोद्दिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो ।
चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाचौं सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो । सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धानहरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राम्हण भोजन शुद्धि श्राद्ध हो । नवौँमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो ।
दशौँ देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौँमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । अर्को ५ प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमित्तिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो ।
यी सबैमध्ये खासगरी हाम्रो समाजमा एकोद्दिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । यसैगरी वर्षको १ पटक पार्वण श्राद्ध गरिन्छ यो खासगरी सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।
आफ्ना पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । वैद्धिक सनातनी समाजमा सोह्रश्राद्धले आफ्नै महत्व राख्दछ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उद्धार गर्ने कार्य हो ।
हाम्रो समाजका सबैभन्दा ठूला पर्व दशैँ तिहार हुन् । यी पर्व मनाउनुभन्दा पहिले आआफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ । यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ । यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ । तर, सकिँदैन भने कम्तीमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ ।
श्राद्ध कसरी गर्ने सन्दर्भमा भने श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाइ गर्ने एक भक्त रही ब्रह्मचार्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात् हबिसे पनि भनिन्छ । एक छाके भनेको यस दिन अपरान्ह्पछि मात्र १ छाक खानुपर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्णलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात श्रद्धाका दिनमा शौच, स्नान, नित्यकर्मा्दि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धव, भान्जा, भान्जी र छोरी ज्वाँइलाई खाना खुवाए पश्चात दान, दक्षिणा गर्ने गरिन्छ ।
यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ । तर, तिथि बिर्सर्ने र योक्रम तोडिनु चाँहि कदापि हुँदैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।
सोह्र श्राद्धमा के नगर्ने ?
श्राद्ध गर्दा विभिन्न नियमहरूको पालना गर्नुपर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै वृक्ष वा दतिउनबाट दात माज्नुपर्दछ । श्राद्धभन्दा अगाडि पान लगायत यस्तै वस्तुहरूको ग्रहण गर्नुहुँदैन । श्राद्ध नसकिकन शरीरमा तेल नलगाउँनु, श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरू हुन् ।
श्राद्धमा पढ्नका लागि गरिने ब्राम्हणहरू जो चोरी कर्म गर्दछ, जो मासुको व्यापार गर्दछ तिनीहरूलाई श्राद्धमा बोलाउनु हुँदैन । शुद्ध ब्राम्हणमा एउटा उर्जा शक्ति हुन्छ त्यो तपाइँका पूर्वजहरूलाई प्राप्त हुन्छ ।
यसमा एउटा कथन छ, भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गरेका थिए । ऋषि मुनीहरूलाई बोलाएर फलफूलहरू ग्रहण गराए । त्यतिखेर फलफूल वितरण गर्दैगर्दा घरभित्र सीता आइन् । रामले किन भित्र आएको भन्दा सीताजीले जवाफ दिईन्, ‘मैले हाम्रा पूर्वजहरूको अनुहार ब्रम्हणहरूको शरीरमा मैले देखें’ भनेर भनेकी थिइन् ।
जो ब्राम्हणहरूले मासु खाएर शास्त्र पढ्छ तिनीहरूको शरीरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्राम्हणहरूबाट पनि श्राद्ध नगराउनु शास्त्रमा भनिएको छ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने प्रचलन रहेकाले अन्नहरू प्रयोग नगर्नु पनि शास्त्र भनिएको छ ।
के–के प्रयोग नगर्ने ?
श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुविण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउनु हुँदैन । किनकि यी चिजहरू गन्द प्रदान भएको हुनाले पित्रृहरू रुष्ट हुन्छन् । पहेंलो सेतो फूलहरू चडाउँनु पर्दछ । चन्दन चलाउँदा पहेलो चलाउनु पर्दछ । रातो चन्दन चढाउँनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेंलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो ।
यहाँ पिण्ड कत्रो दिने ? भन्ने प्रश्न पनि उब्जिन्छ । एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो । वार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो, मासिक श्रादमा पनि नरिवलको दाना जत्रो नै पिण्ड दिनुपर्दछ । तीर्थ श्राद्धमा कुखुराको अण्डा जत्रो, पावण श्राद्धमा अमलाको ठूलो दाना जत्रो दिनुपर्दछ ।
पिण्ड भनेको ब्रमाण्ड हो । आफ्ना पित्रृहरूलाई ‘हे हजुर मैले तपाइँलाई देखेको छैन । मैले हजुरलाई घ्यू, चिनी, दूध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु’ भनि अग्रजहरूलाई सम्झनु पर्दछ । औंशीको दिन पित्रृहरू फर्कने दिन भएकोले औंशीको दिन साँझमा दियो बालिदिने, पृतिहरूको फोटो राख्ने, खीर बनाएर चढाइदिने र भन्ने ‘हजुरहरूको यात्राका लागि मैले बत्ति बालेको छु । भोजन बनाएको छु ।’ श्राद्ध गरिसकेको भए पनि पित्रृहरूलाई सम्झनाले आशिर्वाद प्राप्त हुन्छ भन्ने शास्त्रमा उल्लेख छ । एउटा भनाई पनि छ, ‘देवताले दिन्छन् पित्रृहरूले हर्छन् ।’ त्यसैले आफ्ना पित्रृहरूलाई खुशी पार्नुपर्दछ ।
अन्त्यमा हामीले घरमा, गाईगोठमा, तीर्थमा, बिष्णुपादुकामा, गोकर्णमा, कोटीहोममा, पशुपति क्षेत्रमा, बद्रीमा जहाँ गएर पनि पित्रृहरूको श्रद्धा भक्ति गरेर अनन्य आशिर्वाद लिनुपर्दछ । सोह्रश्राद्ध लगत्तै दुर्गापक्ष, विजयादशमी तथा शुभ दीपावली आउँछ । त्यसैले पहिला पित्रृहरूको आशिर्वाद लिनुपर्दछ अनि देवताहरूको पूजा गर्नुपर्दछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here