समाचार

अमेरिकी एमसीसीले नेकपाभित्र ठूलो विद्रोह

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरूले अमेरिकी सहयोगको एमसीसी परियोजनालाई संसदबाट पारित गराउने तयारी गरिरहेका बेला नेकपाभित्र खुला विद्रोह सुरू भएको छ ।

सत्तारुढ नेकपा नेता नारायण शर्माको नेतृत्वको एक समूहले एमसीसी खारेज अभियान सुरू गरेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल लगायतका नेताले पार्टीभित्रै खुलेरै संघर्ष गरिरहेका छन् ।

एमसीसी सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरीत र चीनसँगको मित्रतालाई पनि बिथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने नेता शर्माले बताए ।

‘पार्टीको स्थायी कमिटीले नै इण्डो प्यासिफिक रणनीतिको अंग हो भने एमसीसी सम्झौता पास नगर्ने सहमति गरेको छ,’ शर्माले भने, ‘अमेरिकी दूतावासले एमसीसी प्यासिफिक रणनीतिको अंग हो भनिसक्यो । अझ पनि नेताहरूले जसरी पनि पास हुन्छ भुन्नुहुन्छ भने हामीले खारेज गर्नुपर्छ भनेर किन भन्न नहुने ?’

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाट पास हुने बताएपछि उनीहरूविरुद्ध विद्रोह गर्दै नेकपाकै नेताहरू सडकमा उत्रिन थालेका छन् । ‘नेताहरू झुक्छन् कि खुट्टा कमाउँछन् कि भनेर खबरदारी गर्न खोजेका हौं,’ शर्माले भने ।

पहिलो चरणमा एमसीसी सम्झौता अनुमोदन नगर्न सुझाव दिइने र त्यसपछि दबाबमूलक कार्यक्रम समेत गरिने उनले बताए । अभियानको पहिलो कार्यक्रम पुस २६ गते गर्ने तयारी रहेको छ, जसमा एमसीसी सम्झौताबारे अन्तर्क्रिया हुने शर्माले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here

error: Content is protected !!