समाचार

आजबाट पूर्णरुपमा लकडाउ : सीमा नाका र सवारी संचालनमा रोक

पोखरा, १० चैत
सरकारले आज मंगलबारबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक मंगलबार विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
गण्डकी प्रदेश सरकारले मंगलबारदेखि अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएको छ । प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न बनाइएको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबारबाट बाग्लुङको बुर्तिबाङ, नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी र स्याङ्जाको राम्दीबाट सवारी प्रवेश रोकिने भएको छ । अत्यावश्यकीय मालबाहक सवारी भने चल्न पाउने छन् ।
निर्देशक समिति संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय र नेपाल सरकारका निर्णय लागु गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री गुरुङको निर्देशन लगत्तै बाग्लुङ जिल्ला पनि सोमबार दिउसो ३ बजेदेखि लक डाउन गरिएको बताइएको छ ।
कोरोना भइरसको सम्भावित संक्रमण रोक्न गोरखा जिल्ला ‘लक डाउन’ गरिएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सोमबार साँझबाटै जिल्ला ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । जिल्लामा अति आवश्यक वाहेकका अन्य सवारी चल्न नदिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘निजी गाडीको पनि आवश्यकता र औचित्य हेरेर चल्न दिन्छौं,’ उनले भने । अतिआवश्यक सवारी साधनका चालक र अन्य यात्रु भएमा हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य परीक्षण गराएर जिल्ला भित्रन दिने उनले बताए ।
अन्य जिल्लाबाट गोरखा भित्रने अधिकांश नाकामा हेल्थ डेक्स स्थापना भइसकेको छ । औषधी तथा खाद्यान्न पसलबाहेक अन्य सबै पसलहरु बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । जिल्लावासीलाई अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
‘हामीले जिल्लावासीलाई घरभित्रै बस्न आग्रह गरेका छौं, बाहिर हिँडेको भेटिएमा प्रहरीले सोधपुछ गर्छ, अति आवश्यक काम रहेछ भने जान दिन्छौ, होइन भने घर फर्काइदिन्छौ,’ उनले भने । काठमाडौंमा एक जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएकाले थप सतर्कता अपनाउदै कडाइ गरिएको प्रजिअ पौडेलले बताए । ‘अर्काे सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेका छौ, कसैले अवज्ञा गरे कानून अनुसार कारवाही गर्छाै,’ उनले भने ।
यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरा बजार सुनसान जस्तै भएको छ । केही दिनदेखि पोखराको बजारमा चहलपहल घटेको हो । पोखरामा रहेकामध्ये केही मानिसहरू गाउँ फर्किएकाले बजार सुनसान भएको हो ।
यता, पोखराको विश्व शान्ति स्तुपा र मुस्ताङको मुक्तिनाथ मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध विश्व शान्ति स्तुपा र मुक्तिनाथ मन्दिर आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने शान्ति स्तुपा र मुक्तिनाथ मन्दिर कोरोना भाइरका कारण बन्द गरेको जनाएका छन् ।
अर्को व्यवस्था नभए सम्म सर्वसाधारणका लागि बन्द गरिएको विश्व शान्ति स्तूप समितिका उपाध्यक्ष उत्तममा बुद्धाचार्यले विज्ञप्ती जारी गरी जानकारी दिएका छन् । साँझ–बिहान गरिने पूजाआजा नियमित हुनेछ । मुक्तिनाथ मन्दिर बन्द गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं मुक्तिनाथ विकास समितिका अध्यक्ष बेदप्रसाद अर्यालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कोरोना उपचारका लागि मालेपाटनस्थित कृषि केन्द्रमा १ सय बेडको क्वारेन्टाइन तयार गरिनेछ । बाटुलेचौरको मातृशिशु मितेरी अस्पताललाई पनि कोरोनाको उपचारका लागि प्रयोग गर्ने निर्णय समितिले गरेको हो ।
उच्चस्तरीय समितिको बैठकले हस्पिटलमा ओपिडी सेवा बन्द गर्ने र इमर्जेन्सी चलाउने निर्णय गरेको छ । विभिन्न स्थानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको बैठकले लेखनाथको लेखनाथ सामुदायिक अस्पताललाई आइसोलेटेड डेडिकेटेड अस्पताल बनाउने निर्णय लिएको छ ।
लेखनाथको सामुदायिक अस्पताललाई प्रदेशको कोरोना उपचार गर्ने विशेष अस्पतालको रुपमा सञ्चालन गर्न लागेको छ । ६० बेड चलाउने गरी आवश्यक उपकरण जडान सोमबारदेखि थालिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । उनका अनुसार प्रदेशभित्रका सबै अस्पतालका ओपीडी सेवा पनि ठप्प हुनेछ ।
थप आइसोलेन बेड आवश्यक परेमा मातृशिशु मितेर अस्पताल उपयोग गरिने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले मातृशिशु अस्पताल र क्वारेनटाइनका लागि पोखरा रंगशालाको कभर्ड हल प्रयोग हुने जानकारी दिए ।
यस्तै कोरोनबारे जानकारी लिन हेल्लो डक्टर ०६१–५२४०७४ सुरु भएको छ । चाडै टोलफ्री नम्बरसमेत सुरु गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।
हरेक ५० बेड र त्यसभन्दा माथिका अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने तयारी छ । ज्वरो १ सय दशमलब ४ भन्दा बढी आएको भए थप जाँच गरी थप उपचार गर्ने भएको छ । प्रदेशले उपचार कोष खडा गरी १० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । सार्वजनिक बस र व्यापार, व्यावसाय मंगलबारबाट बन्द हुनेछन् । सरकारी कार्यालय, खाद्यान्न, औषधि पसलहरु खुला राखिने भएको छ ।
उपचार खर्च सरकारकै
कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि डेडीकेटेड अस्पतालका रूपमा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई तोक्ने र सो को लागि आवश्यक बजेट प्रदेश सरकारले तुरुन्त उपलब्ध गराउने निर्णय गरेके छ । संक्रमितको उपचारको उचित व्यवस्थापनका लागि आवश्यक भेन्टिलेटर, बेड लगायतका औजार, उपकरणहरू प्रदेशभर रहेका सरकारी, निजी र सामुदायिक अस्पतालबाट आआफ्नो क्षमता अनुसार तत्काल उपलब्ध गराउने र उक्त अस्पतालबाट उपचार गरिएका विरामीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताइएको छ ।
कास्की कांग्रेसको अपिल
नेपाली काँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन लागि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहित आइतबार बसेको आकस्मिक बैठकले यस्तो आग्रह गरेको प्रवक्ता नवीन सिग्देलले बताए ।
विश्वका अधिकांश राष्ट्रमा यसको संक्रमणसँगै त्रास बढिरहेको भन्दै बैठकपछि जारी विज्ञप्तिमा सचेत रहनु नै सबैभन्दा उत्तम विकल्प देखिएकाले सजग, सचेत र स्वयंम जिम्मेबार बन्दै आफू र अरुलाई समेत जोगाउने गरी तत्पर रहन अपिल गरिएको छ ।
कास्की काँग्रेसका सभापति केसीद्वारा जारी विज्ञप्तिमा विषम परिस्थितिमा आम उपभोत्ताहरुमा खाद्यान्न लगायत अत्यावश्यक सेवामा समेत कृत्रिम अभाव महसुस हुनथालेकाले त्यसको निराकरणका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा आर्थिक क्षेत्रमा परेको प्रतिकुल असर न्यूनीकरण गरी आम नागरिकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ । यस्तै, पार्टीका सबै तहलाई नागरिक सेवामा समर्पित भई आमनागरिक र आफूलाई समेत सुरक्षित राख्न अनुरोध गरिएको छ ।
साझा पार्टीको आग्रह
कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखरा विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।
साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ ।
प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । कास्की जिल्ला संयोजक अर्जुन खनालले भने, ‘हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरू नै त्रसित अवस्था रहेको भेट्यौँ । अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।’
साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयम्सेवी सहयोगी हातहरू अगाडि बढाउन साझा पार्टी सधँै तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताइन् ।
साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उनको भनाइ थियो । यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने उनले बताइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here