समाचार

इम्बोस्ड नम्बर अंग्रेजीमा राख्ने निर्णय राष्ट्रघाती भएको आरोप सर्वाेच्चको निर्णय नसच्याए कडा कदम चाल्ने चेतावनी

पोखरा, १६ भदौ नेपाली भाषा साहित्य संघ, नवलपरासीले सरकारी स्तरबाटै नेपाली भाषाको अस्तित्व मेटाउने प्रयास गरिएको आरोप लगाउँदै विरोध जनाएको छ ।
संघले यस विषयमा सर्वोच्चको आदेश तत्काल नसच्याए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकद्वारा सञ्चालित अभियानमा ऐक्यबद्धता जनाउँदै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न माग गरेको छ । संघका अध्यक्ष तथा सचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘भाषा कुनै पनि जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचान हो ।
नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा र साझा सम्पर्क भाषा तथा भारत, भुटान र म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो ।
पछिल्लो समयमा नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले भइरहेका आक्रमणहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यसै सिलसिलामा अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेद प्रकट गर्दै घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अंग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत देखिन्छ ।
नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय छ । सर्वोच्चको यस्तो असंवैधानिक फैसला हामीलाई कदापि स्वीकार्य छैन । सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनक छ र योे कदापि मान्य हुँदैन । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौँ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here