समाचार

काँग्रेस संसदीय दलको बैठक आज

काठमाडौं, २ माघ
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । ‘संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौं’, उनले भने । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
नेविसंघको आन्दोलन जारी
यसैगरी नेपाल विद्यार्थी संघको रिले अनसन एक महिनादेखि जारी रहेको छ । विधानअनुसार नेविसंघको १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै गत पुस २ गतेदेखि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको रिले अनशन १ महिना पुगेको छ ।
नेविसंघको नयाँ विधानमा ३२ वर्ष मुनिकालाई अध्यक्ष बनाउनुपर्ने व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने नेतृत्वको खोजीमै अल्मलिएको छ ।
विसं २०७५ माघमा नेविसं्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएसँगै १ वर्षदेखि नेविसंघ नेतृत्वविहीन बन्न पुगेको छ । नेविसंघका नेता नवराज त्रिपाठीले विधानअनुसार २० जिल्लाको महाधिवेशन सम्पन्न भइसकेकाले अव बन्ने तदर्थ समिति विधानअनुसार ल्याउनुपर्ने बताए । ‘विधानअनुसार तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसंघको १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने अनशनकारीको माग हो’, उनले भने । नेविसंघ नेता त्रिपाठीले भने विधान मिचेर नेतृत्व आए आमरण अनशन बस्ने बताए ।
नेविसंघका अर्को नेता सुशील भट्ट स्ववियु निर्वाचनमा अरु विद्यार्थी संगठनसँग प्रतिस्पर्धा गर्नपनि तत्काल तदर्थ समिति निर्माण गर्नुपर्ने बताए । ‘विद्यार्थीको नेतृत्व विद्यार्थीबाटै स्थापित गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने । नेपाली काँग्रेस भने पार्टीभित्रको १४औँ महाधिवेशनको समय तालिका र भ्रातृ संस्थाभित्र नेतृत्व कसलाई दिने भन्ने विवादमा अल्झिएको छ । पार्टीभित्रको विवादका कारण अनशन पनि ओझेलमा पर्दै गएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here