समाचार

कृपया घरमै बस्नुहोस्

डा. रवीन्द्र पाण्डे
अहिले हामी दशकौंमा एकपटक आउने महामारीको चपेटामा छौं । प्राकृतिक बिपत्ति र महामारीको बिशेषता के हुन्छ भने यिनीहरु आउँदा ‘म मर्छु, मेरो परिवारको मृत्यु हुन्छ, मेरो आफन्तको मृत्यु हुन्छ, मेरा मित्रहरुको मृत्यु हुन्छ’ भनेर कसैले पनि कल्पना गर्दैन । म त कहाँ मर्छु र ? तिनीहरु पो मर्छन् भन्ने मानसिकता हामी सबैमा हुन्छ । अनि हामी सानो लोभ र मोहको दास भएर आगोसँग खेल्न जान्छौं ।
मलाइ लागेको खोकी मौसमी रुघाखोकी हो, अरुलाई लागेको खोकी कोरोना संक्रमणको लक्षण हो भनेर जबसम्म हामीले बुझ्छौं भने हामीले केहि पनि बुझेका हुदैनौं । फलस्वरूप हामी प्रिय इटालीको दुर्दशा बुझ्न चाहन्नौं ।
कोरोना भाइरसको संक्रमण बढेपछि लाखभन्दा धेरै व्यक्ति प्रभावित देशबाट आइसकेका छन् । हजारौं आइरहेका छन् । हाम्रो अध्यागमन र नाकाको सुरक्षा जांच अत्यन्तै कमजोर छ । थर्मल गनले तापक्रम नाप्दैमा कोरोनाको परीक्षण हुँदैन, त्यो मात्र देखावटी हो । ज्वरो हजारौं रोगमा आउँछ, कोरोना संक्रमणमानआउन पनि सक्छ । एउटा गोली सिटामोलले १०४ डिग्री ज्वरोलाई पनि ९८ डिग्रीमा पुर्याउँछ । तसर्थ थर्मल स्क्यानरको कुरा नगरौं ।
महामारीको समयमा पहिलो सर्त भनेको क्वारेन्टाइन हो । जिम्मेवार नागरिकलाई अनिबार्य होम क्वारेन्टाइनमा र गैह्र जिम्मेवार नागरिकलाई फोर्स क्वारेन्टाइनमा राख्नु, त्यसको नियमित अनुगमन गर्नु, बल वा बुद्धि प्रयोग गर्नु जस्ता कुरा राज्यले निर्धारण गर्नुपर्थ्यो र गर्नुपर्छ । कमसेकम ७७ जिल्लामै भारत लगायत विदेशबाट आएका नेपाली, बिदेशी, उनीहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर अनिबार्य क्वारेन्टाइनमा राख्नुहोला भनेर सर्कुलर जारी गरेको भए तथा सम्बन्धित परिवारलाई सचेत गराएको भए ढुक्क हुने स्थिति हुन्थ्यो । त्यो बिल्कुल छैन ।
हात धुने, मास्क लगाउने, स्यानिटाइजर लगाउने लगायतका सेकेण्डरी कुरामा जनता अल्मलिएका छन् । के खाने, के नखाने जस्ता कुरामा जनता गुमराहमा परेका छन् । हामी यहाँनेर चुकिरहेका छौं ।
सरकारले हवाइ सेवा १० दिनको लागि बन्द गरेको छ । त्यो स्वागत योग्य कुरा हो । आजैदेखि १५ दिनसम्म एयरपोर्ट बन्द गरेको भए बैज्ञानिक निर्णय हुन्थ्यो । जनताले अपेक्षा गरेको स्थलगत नाका बन्द गर्ने सबैभन्दा महत्वपूर्ण पक्षलाई गोलमटोल भाषामा थन्काइएको प्रतित हुन्छ । हवाइ र स्थल दुवै मार्ग शतप्रतिशत बन्द गरेर १५ दिन कर्फ्यु लगाएर लकडाउन गर्ने हो भने नेपाल कोरोना फ्री हुन्थ्यो, हुन्छ ।
यसो गर्दा कोरोना संक्रमण कसैलाई भएको भए उसलाई निको हुन्थ्यो, अरुलाई सार्न पाउने थिएन अनि निको नभएका अस्पतालमा भर्ना हुन्थे । यसरी हालसम्मको कोरोना भाइरस स्क्यान हुन्थ्यो । सरकारले यस्तो निर्णय गर्न तुरुन्त पहल गरोस् । चीन, युरोप, अमेरिका लगायत स्रोत साधन सम्पन्न देशलाई त कोरोना भाइरसले आच्छु आच्छु पारेको छ भने कोरोना हाम्रो देशमा फैलियो भने अकल्पनीयक्षति हुन्छ, नियन्त्रण बाहिर जान्छ । यो तथ्य बुझ्नु जरुरि छ ।
अर्को कुरा नेपालको दक्षिणमा रहेका युपी तथा बिहारमा ठूलो जनसंख्या छ । त्यहाँ लागेको कोरोनाको झिल्कोबाट नेपाललाई कसरी बचाउने भन्ने गृहकार्य शुन्य बराबर छ । यो बिष्फोटको आवाज हामीले समयमै सुनेनौं भने भयाबह महामारीको चपेटामा हामी पर्ने निश्चित छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियालाई सबैभन्दा संबेदनशील मानेको छ । यो तथ्यलाई हामीले सुन्न पनि चाहेका छैनौं । यो बिडम्बना हो ।
हामी असाध्यै निरीह भएका छौं । चीनले के सहयोग गरौँ भनेको छ । विश्व स्वास्थ्य संगठन पनि सहयोग गर्न तयार छ । हामी आफैले पनि टेन्डर गर्न सक्छौं । ५ लाख किट र ५० हजार स्वास्थ्यकर्मीले लगाउने गाउनको ब्यबस्था गर्न किन हामी उदासिन छौं ? महामारी फैलियो भने स्वास्थ्यकर्मीले खाली हातले कसरी लड़लान ? सरकारले यो बिषय बुझ्नु जरुरि छ ।
कोरोना भाइरस नआउँदै कालोबजार, कृत्रिम अभाव तथा ब्यबसायिक अराजकता सुरु भइसकेको छ । यसको नियन्त्रण कसले गर्ने ? अमेरिका तथा युरोपेली देशले कोरोना संक्रमण इतिश्री हुन डेढ बर्ष लाग्छ भनेका छन् । सरकारलाई डेढ बर्षका लागि औषधि तथा अत्यावश्यक सामाग्री संचय गर्न केले बाधा पारेको छ ? महामारी र भोकमरी फैलियो भने त्यो अराजकताले ब्यबस्था उल्टिने प्रचुर सम्भावना हुन्छ ।
मेरो अन्तरआत्माले भन्छ – कोरोना संक्रमण नेपालमा कहीं कतै अवश्य छ । लक्षण नदेखिएर, आइसोलेसनमा बस्न डराएर वा सामाजिक बहिष्करणको डरले धेरैजनाले रोग लुकाएका छन् । रोग लुकाउन नखोजे पनि हाम्रो टेकुस्थित प्रयोगशालाले ज्योतिषी पाराले हात हेरेर भन्छ – तपाइलाई कोरोना सोरोना छैन, घर जानुस् । यस्तो बिडम्बना कुन देशमा छ होला ? कोरोना संक्रमण नियन्त्रण गर्न हामी नागरिकको पनि ठूलो हात छ । विदेशबाट आएका आफन्तलाई १५ दिन घरमै क्वारेन्टाइनमा राखौं । यो कदमले तपाइको परिवार बच्दछ, समाज बच्दछ ।
लक्षण नदेखिने २ देखि १४ दिनको ‘विन्डो पिरियड ‘ रोग सार्न सबैभन्दा खतरनाक हुन्छ । तसर्थ नयाँ मान्छे घरमा आए, नयाँ व्यक्तिसँग भेटघाट भए, कोरोनाका लक्षण देखिए, रुघाखोकी लागे अथवा ज्यानको अलि धेरै माया लागेमा हामी १५ दिन आफै क्वारेन्टाइनमा बसौं । प्रत्येक नागरिकले यो नियम पालना गर्ने हो भने यो महामारीबाट हामी मुक्त हुन्छौं । अन्यथा इटाली लगायत युरोपको भयाबह स्थितिको भन्दा ठूलो दुर्दशा हामीले भोग्नुपर्नेछ । (पाण्डे जनस्वास्थ्य विज्ञ हुन्)

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here