समाचार

ठ्याक्कै मिल्यो मन्त्री दिपक मनाङेको भविष्यवाणी, यसरी ढल्यो कम्युनिष्ट सरकार !

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला बैशाख १६ गते सांसद राजीव गुरुङ (दिपक मनाङे) युवा तथा खेलकुद मन्त्री नियुक्त भए ।

मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री मनाङेले भने, ‘म मन्त्री पदमा १०–१२ दिनको लागि मात्र पनि हुन सक्छु । तर केही दिनमै देखिने गरी केही योजना ल्याउने छु ।’ यसरी मन्त्री पदमा १०–१२ दिन रहने घोषणा गरेका मनाङेको भविष्यवाणी ठ्याक्कै मिलेको छ ।

मनाङे मन्त्री बनेको ठ्याक्कै १० दिनपछि आज आईतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्रीको राजीनामासँगै प्रदेश सरकारका सबै मन्त्री पदमुक्त हुन्छन् । नयाँ मन्त्री नियुक्त नहुँदासम्मका लागि गुरुङ कामचलाउ मुख्यमन्त्री बनेका छन् ।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री सम्बन्धी प्रस्ताव ३ दिनभित्र पेश गर्न आह्वान गरेकाले अब मुख्यमन्त्री समेत २ दिन कामचलाउ हैसियतमा रहनसक्छन् । यसरी मन्त्री मनाङेको भविष्यवाणी ठ्याक्कै मिलेको छ ।

अब गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने बाटो खुलेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि भोलि सोमबार मतदान हुने १ दिनअघि आज आईतबार गुरुङले राजीनामा दिएका छन् ।

गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो । जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन गरेका थिए । कांग्रेसको मुख्यमन्त्री हुने अवस्थामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने जनाइसकेको छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्र्दै गुरुङले राजीनामा दिएको जनाएको छ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेको उल्लेख छ ।

धारा १६८(२) दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन सकिने उल्लेख छ । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री पोखरेलको पक्षमा स्पष्ट बहुमत पुगिसकेकाले कांग्रेसले मुख्यमन्त्री पाउने देखिन्छ ।

via : swadesh Nepal
https://www.swadeshnepal.com/2021/05/225865/?fbclid=IwAR1xtJWUUtbLrTGI4s0YMIa4fIbU9iV6iuMy3DM_QLCTWN2XDWpJaGfynXM

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here