समाचार

पृथ्वीनारायण क्याम्पसका ज्यालादारी प्राध्यापक आन्दोलित: आजबाट कक्षा बहिष्कार

पोखरा, १२ माघ
पोखराको जेठो र देशकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्नातक र स्नातकोत्तर तहका ७० प्रतिशत कक्षा भारहरू श्रेणी विहीन (ज्यालादारी) प्राध्यापकहरूले पढाइरहेका छन् ।
क्याम्पको गुणस्तरमा सबैभन्दा पहिलो अंशका रुपमा रहने प्राध्यापकहरू पार्टटाईमका रुपमा रहेका श्रेणी विहिन प्राध्यापकहरूले अध्यापन गराउदा क्याम्पसको अवस्था दयनीय बनेको छ । विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २ सय १८ जना आशिक प्राध्यापकहरूले सामुहिक राजीनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
आशिंक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले विगत १४ वर्षदेखि सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको जिकिर गरे ।
उनले भने, ‘हामीलाई सामान्यरुपमा पियनको जस्तो पनि व्यवहार यो क्याम्पसले गर्दैन, यस्तो अवस्थामा समान कामको समान ज्याला नभए सम्म हामी आन्दोलन फिर्ता लिने पक्षमा छैनौं ।’ क्याम्पसमा कार्यरत ५ सय ४९ प्राध्यापकमध्ये २ सय १८ जना आशिंक रहेको उनले जानकारी दिए ।
संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्द भएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन ।
पाठ्यक्रमले प्रस्ट रुपमा १ सय ५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरू पूरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् । उनले भने, ‘यस हिसाबले सोही बराबरको काम गर्ने पुर्णकालिन प्राध्यापक को करिब १० प्रतिशत पारिश्रमिक मा नै आशिंक प्राध्यापक हरू सेवारत छन ।’
क्याम्पसमा विगत १४ बर्षदेखि विविध संघर्षका कार्यक्रममार्फत आफ्ना मागहरू राख्दै आएका आंशिक प्राध्यापकहरू अहिले फेरि अन्तिम आन्दोलनको नाममा विगत १ महिना भन्दा बढी समयबाट आन्दोलन गरेका हुन् । उनीहरूले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि समस्या समाधानप्रति प्रशासनले कुनै चासो नदिएको भन्दै समस्या समाधान नभएसम्मको लागि कक्षा बहिष्कारको आन्दोलन शुरु गरेका छन् ।
प्राध्यापकहरूले आन्दोलनको कार्यक्रम अन्तर्गत गत मंसिर २९ गतेबाट विरोधका विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । यसैक्रममा ध्यानाकर्षण गराउने, सरोकारवालाहरूसंगको छलफल, सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी यसअघि गरिसकेका छन् । सोमबारबाट अनिश्चितकालीन कक्षा बहिष्कार गर्ने र माग पूरा नभए सामुहिक राजीनामा दिने आशिंक प्राध्यापकसंघका अध्यक्ष गौतमले जानकारी दिए ।


आशिंक प्राध्यापकको आन्दोलनका वारेमा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा.चन्द्रबहादुर थापाले आशिंकको समस्या विशेष भएको धारणा राखे । उनले भने, ‘यो समस्या वास्तवमै विकराल समस्या हो तर पनि समाधान मसँगै छैन । त्रिविले यो विषयमा कुनै चासो दिदैन ।’
उनका अनुसार स्नातकको कोर्ष २ वर्षेबाट ४ वर्षे बन्यो । अनि स्तानकोत्तरको कक्षा सेमेस्टरमा गएर छ । जसका कारण नियमित पठनपाठन गराइरहेका शिक्षकहरू भन्दा अझै वढी प्राध्यापक आवश्यक छ । तर माथि बस्नेहरूले समस्या नवुुझेको पनि उनको भनाई थियो ।
यता, विद्यार्थीहरूको हकका लागि स्थापित अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा क्याम्पसक कमिटीका अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकहरूको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने धारणा राखे ।
उनले भने, ‘कसैले न्यून ज्यालामा पढाउन सक्दिन भन्न पाउँछ तर विद्यार्थीको पढाईलाई रोक्न पाईदैन, यसको जवाफ प्रशासनले दिनुपर्छ ।’ कि तत्काल समस्या समाधान गर्नुपर्छ नत्र अर्को व्यवस्था गरेर भए पनि कक्षा संचालन हुनुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘पठनपाठन अवरोधवाट उत्पन्न हुने कुनै पनि समस्याको जवाफ क्याम्पस प्रशासनले दिनुपर्छ ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here