समाचार

म्याराथन सफल बनाउन प्रहरी र यातयात व्यवसायी प्रतिवद्ध

पोखरा, १२ माघ
आगामी फागुन ३ गते भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन नेपाल प्रहरी र यातयात व्यवसायीको सहमति प्रकट गरेका छन् ।
मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन सुरक्षा र यातयात व्यवस्थापनको विषयमा विशेष जोड दिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन । पोखरा म्याराथनमा विशेष गरि म्याराथन रुटमा जथाभावी यातयात संचालन हुँदा खेलाडीले निकै समस्या भोग्नुपरेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए । यो पटक म्याराथनमा दौडनेको संख्या ह्वात्तै बढने र विदेश बाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताए ।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले पोखरेलीहरूलाई पोखरा म्याराथनलाई खेलकुदको विकास र सार्वजनिक हितका लागि प्रयोग गर्न आग्रह गरेका छन । उनले भने, ‘पोखरा म्याराथन अभियान हो, पोखरामा रहेका हरेक सामाजिक संघसंस्थाहरू आआफ्नो संस्थाका तर्फबाट सचेतना मुलक प्लेकार्ड सहित पोखराका हरेक चोकमा उभिएर खेलकुद संगै सामाजिक अभियानमा जुटन सक्छन ।’ प्रहरी प्रमुख कार्कीले वर्षको एक दिन पोखराको प्रचारका लागि गरिएको कार्यक्रममा सबै पोखरेलीहरू ३ घन्टाको लागि सडकमा आउन आह्वान समेत गरे ।
कार्यक्रममा पृथ्वीराजमार्ग बस व्यवसायी समितीका अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यवसायीहरू प्रतिवद्ध रहेको बताए । ‘म्याराथन सफल बनाउन यातयात ब्यावसायीहरू प्रतिबद्ध छन्’, उनले भने, ‘हामी सबै यातयात व्यवसायी संघ संस्थाहरू फागुन ३ गते कम्तिमा पनि ३ घन्टा म्याराथन रुटमा यातयात साधन नचलाउन आग्रह गर्ने छौं ।’ यसका लागि आयोजक र प्रहरी संग मिलेर योजना बनाउने उनले बताए ।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रलाल कर्ण, पोखरा महानगर पािलकाका वडा नं १३ का अध्यक्ष लेखबहादुर तामाङ, विन्दवासिनी यातायात ब्यवसायीका सचिव प्रमोद दवाडी, मञ्चका प्रथम उपाध्यक्ष हरि पराजुली, सचिव कृष्ण तिमिल्सिना लगायतले फागुन ३ गते पोखरा म्याराथन सफल बनाउन सबैसंग आग्रह गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here