समाचार

राष्ट्रियसभा निर्वाचनमा ९९.१९ प्रतिशत मतदान


पोखरा, ९ माघ
राष्ट्रियसभा सदस्यको बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ ।
राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहीबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
गण्डकीबाट श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् । नेकपा प्रवक्ता रहेका श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरेका छन् ।
यसैगरी न्यौपाने ३ हजार ३ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले २ हजार ३ सय ४० मत प्राप्त गरे । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १ सय ९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । बिहीबार बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २ सय ३० मध्ये २ सय २८ जनाले मतदान गरेका थिए ।
यसैबीच राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएपछि नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले अबको कार्यभार आर्थिक क्रान्ति सफल पार्नु रहेको बताएका छन् । उनले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताए । मन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’
उनले अघि भने, पार्टीले निर्णय गरेर राष्ट्रियसभा सदस्य बनाएको हो, त्यो जिम्मेवारी पुरा गर्छु । नेतृत्वको हिसावले हिजो जिम्मेवारी निर्वाह गर्दै आइरहेको अवस्थामा आज राष्ट्रियसभा सदस्य भएपछि कसरी भूमिका निर्वाह गर्ने भनेर पार्टीले निर्णय गर्छ, त्यही अनुसार हुन्छ ।’ व्यक्तिगत कुनै आकांक्षा नरहेको उनले बताए ।
यता, राष्ट्रियसभामा नेकपाले कर्णाली प्रदेशका दुबै सिटमा विजयी हासिल गरेको छ । बिहीबार भएको मतगणनामा अन्य समूहबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६१८ मतभारका साथ विजयी भएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले १ हजार २६ मतभार प्राप्त गरेर पराजित भए । यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी ३ हजार ६८४ मतका साथ विजयी हुँदा कांग्रेसकी गणेशकुमारी बस्नेतले १ हजार २६ ल्याएर पराजित बनिन् ।
यसैगरी प्रदेश २ को राष्टियसभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखरसिंह विजयी भएका छन् । उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।
अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश दुईको निर्वाचनमा चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ । नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दाहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।
यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् । अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ मतभार पाए । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए ।
यता, प्रदेश पाँचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘क्लिन स्विप’ गरेको छ । प्रदेश नम्बर पाँचको राष्ट्रियसभा निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । अपांगतातर्फ नेकपाका उम्मेदवार जगप्रसाद शर्मा, महिलातर्फ विमला घिमिरे र खुल्लाबाट गोपाल भट्टराई निर्वाचित भएका हुन् । अपांगतातर्फ नेकपाका उम्मेदवार जगप्रसाद शर्माले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मेहराज अहमत हलवाइले १ हजार ९ सय ८६ मत प्राप्त गरेका थिए । महिलातर्फ विमला घिमिरेले ५ हजार सात सय ७८ मत पाइन् भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी गिरिजादेवी न्यौपानेले २ हजार १ सय प्राप्त गरिन् । त्यस्तै खुलातर्फ गोपाल भट्टराइले ५ हजार ३८२ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२ ल्याए ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन भएको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here