समाचार

राष्ट्रियसभा निर्वाचन आज:  १८ सदस्य पूर्ति हुने

नारायण न्यौपाने
काठमाडौं, ८ माघ
राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार पुगिसकेका छन् । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश ः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
उक्त निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ समेत गरी २ हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।
मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ । ‘निर्वाचन जति स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ’, आयोगले स्मरण गराएको छ ।
निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न÷गराउने कार्यमा सहयोग पु¥याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो । १ सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।
को–कसको पूरा हँुदैछ कार्यकाल
राष्ट्रियसभामा पहिलो २ वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन् । उनीहरूमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।
गण्डकीमा तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए ।
निर्वाचनका लागि २ मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा ९ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । त्यसैगरी आवश्यक मात्रामा सुरक्षाकर्मीसमेत बुधबारबाट नै परिचालन गरिएको बताइन्छ । ‘निर्वाचनलाई शान्तिपूर्ण र कुनै पनि बाधा अड्चन बिना सम्पन्न गर्नका लागि सबै तयारी सकिएको छ । समयै मदान शुरु गरेर भोलि नै साँझ ६ बजेभित्रमा मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौं’, प्रमुख सुवेदीले भने ।
‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी २ पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १ सय ७० गरी कूल २ सय ३० मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको १ मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको २ हजार ८ सय ८० र स्थानीय तहको ३ हजार ६० गरी कूल ५ हजार ९ सय ४० मतभार गण्डकी प्र्र्रदेशमा छ ।
निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांगेसले दुबै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले १ पदमा मात्र उम्मेदवारी दिएको छ । नेकपाबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन् । काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शंकर बराल उम्मेदवार छन् ।
नेकपाको प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता छन् । नेकपाको कूल मतभार ३ हजार ४ सय १४ छ । नेपाली कांग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । काँग्रेसको कूल मतभार २ हजार १ सय ७८ छ । राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा ३ तथा अध्यक्ष स्थानीय तहमा ३ गरी ६ मतदाता रहेकोमा १ सय ९८ मतभार छ ।
समाजवादी पार्टीको प्रदेशसभामा २ मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको २ मत बराबर ३६ मतभार छ । स्थानीय तहका १ स्वतन्त्र मतदाताको १८ मतभार छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here