समाचार

शेरबहादुरजी फेरी सभापति भए पार्टी सिद्धिन्छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवा पार्टी कब्जाको रणनीतिमा लागेको बताउनुभएको छ । महामन्त्री कोइरालाले सभापतिले पार्टीभित्र सबैलाई मिलाएर लैजानुको साटो बहुमतको बलमा विधान विपरीतका निर्णय गरेर कांग्रेसलाई गम्भीर संकटतर्फ धकेलेको आरोप लगाउनुभयो । महामन्त्री कोइरालाले पार्टीभित्र बृहत्तर एकताको पक्षमा आफू रहेपनि सभापति देउवाले एकताको भावना नबुझेकाले अब प्रतिस्पर्धा हुने बताउनुभयो । ‘अब देउवाजीसंग वार्ता हुँदैन । यथास्थितिमा उहाँले बोलाएको बैठकमा जानुको अर्थपनि छैन । अब सभापतिको गलत कदका विरुद्ध हामी लड्छौं ।’, कोइरालाले भन्नुभयो ।

एक टेलिभिजन अन्तर्वार्ताका दौरान महामन्त्री कोइरालाले संस्थापन इत्तर समूहको एकताले नै कांग्रेस जोगाउन सक्ने बताउनुभयो । ‘शेरबहादुरजी फेरी सभापति हुनुभयो भने पार्टी सिद्धिन्छ । यो पार्टी जोगाउन पुरानो संस्थापन पक्ष एकताबद्ध हुनुपर्छ । हामी एक भयौ भने महाधिवेशनबाटै पार्टी सुधार्न सक्छौं ।’, कोइरालाले भन्नुभयो । पार्टीको पछिल्लो अवस्थाबारे देशभरीका कार्यकर्ता र जनतामाझ बृहद छलफल हुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसको रुपान्तरणलाई देउवाले रोक्न नसक्ने बताउनुभयो । ‘उहाँको बहुमत केन्द्रीय समितिमा मात्रै हो । देशभरका कार्यकर्ता देउवाको नामसमेत सुन्न चाहदैनन् । त्यसैले ती कार्यकर्ताले अब निकास दिन्छन् ।’कोइरालाले भन्नुभयो ।

पार्टीभित्रका संरचनामा विधान विपरीत निर्णय लिएर महाधिवेशन प्रभावित पार्ने रणनीतिमा देउवा लागिपरेको कोइरालाको आरोप छ । ‘६ महिनामा बनाउनुपर्ने विभाग अहिले किन बनाउनुपर्यो ? ? विभाग किन थप्नुपर्यो ? यो सबै पार्टी कब्जाको रणनीति हो । यो रणनीति असफल बनाउन हामी कार्यकर्तामा जान्छौं ।’, कोइरालाले भन्नुभयो ।

महामन्त्री कोइरालाले संस्थापन इत्तर समूहमा एकता बढ्दै गएको भन्दै देउवाको विकल्प दिनेबारे आफूहरुका बीच सहमति रहेको बताउनुभयो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here