समाचार

सभामुखको निर्वाचन  माघ १२ मा


पोखरा, ५ माघ
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।
उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ बजे बस्नेछ ।
उपसभामुखको राजीनामा
उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गरिन् । एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताइन् ।
आफूले यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्न लागेको स्पष्ट पारिन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here