समाचार

सभामुखमा सापकोटाको उम्मेदवारी

काठमाडौं, ७ माघ
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुन् । संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि ४ महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।
कांग्रेसले उम्मेदवारी नदिने
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कंग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् । ‘सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले कांग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ’, उनले भनिन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here