समाचार

स्वदेश फर्कन नपाएर छटपटिँदै पर्यटक

पोखरा, १० चैत
अमेरिकी नागरिक क्यामरोन बेल वालेनफेल्सले ९० दिन लामो नेपाल भ्रमण सके । विभिन्न रूटका पदमार्ग हुँदै पहाड र तराइका जिल्लाहरू घुमेका क्यामरोन निर्धारित समयमा स्वदेश फर्कन पाएका छैनन् । पाए पनि उनी जान भने डराइरहेका छन् । ९० दिन नेपालमा बिताइसकेका उनले दैनिक ३ डलर खर्चेर आफ्नो भिसाको म्याद मंगलबार २५ दिन थप गरे ।
अमेरिकी पर्यटक क्यामरोन मात्र होइन, बेलायती जर्जिना बेथाङ फोर्डले १५ दिने भ्रमण सकेर फेरि १५, फ्रान्सेली मिल्हिट छाइरले ३० दिनको भ्रमण सकेर १५ र जर्मनीका निकोल एन्ना केस्लरले पनि ३० दिनको भ्रमण अवधि सकिएपछि ३० दिन भिसा थपेका छन् । कोरोना भाइरसले विश्वव्यापी महामारी लिनुभन्दा अघि अमेरिका, बेलायत, जर्मन, फ्रान्स, अष्ट्रेलिया लगायत देशबाट आएकाहरू अहिले स्वदेश फर्कन पाएका छैनन् ।
उल्लेखित देशहरूमा नेपालको सिधा उडान छैन । उनीहरू भारत, हङकङ, दुबइ लगायत देश हुँदै नेपाल आउनुपर्छ । कोरोना भाइरसका कारण नेपाल सरकारले मात्र होइन, ती देशले पनि हवाई उडान स्थगित गरेका छन् । त्यसैले पनि नेपाल भित्रिएका पर्यटक स्वदेश फर्कन नपाएको अध्यागमन कार्यालय पोखराका निमित्त प्रमुख चेतराज आचार्यले बताए ।
पोखरास्थित अध्यागमन कार्यालयमा मंगलबार भेटिएका अमेरिकी पर्यटक पल विलियम थोमसले कोरोना भाइरसकै कारण आफू स्वदेश फर्कन नपाएको बताए । नेर्वे्जियन पर्यटक मोनिका मिरेङले १५ दिनको घुमघाम सकेर ३० दिन म्याद थपेको बताइन् । उनीहरूको देशमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन कष्टकर भएकाले कतिपय पर्यटक भने यहीँ बस्न चाहेका छन् ।
उनका अनुसार कोरोना भाइरसका कारण स्वदेश फर्कन नपाएका कतिपय पर्यटकसँग थप बसाइका लागि चाहिने खर्च समेत छैन । ‘कतिपय पर्यटकले मेरो घुम्ने समय सकियो, घुमघाम गरेँ, निर्धारित समय र खर्च सकिएकाले यहीँ बस्नुपर्दा थप्नुपर्ने भिसाको शुल्क नलिन भन्ने गरेका छन्,’ उनले भने । पोखरास्थित ट्रेकिङ कम्पनी इथिकल ट्रेकका कृष्ण आचार्यले पर्यटकहरू आफ्नो देशको दर्दनाक समाचार सुनेरै नेपाल छाड्न नचाहेको बताउँछन् ।
उनको समूहमा आएका अमेरिकी टोलीले आफ्नो देशमा ट्वाइलेट पेपर समेत अभाव भएको खबरले त्रसित बनाएको कुरा कृष्णसँग बताएका रहेछन् । ‘अमेरिकाबाट आफ्नो देशमा सेल्फ क्वारेनटाइनमा बस्नुपर्दा जेल बसेको भन्दा पनि अप्ठ्यारो परेको आफन्तहरूले खबर गरेका छन्, यहाँ त निर्धक्क घुम्न पाइएको छ यहीँ बस्छौं भन्दै थिए । निकै डराएका छन्,’ कृष्णले भने । जर्मनीका केही पर्यटक भने जुनसुकै अवस्था भए पनि स्वदेश फर्कन चाहेको उनले बताए ।
अध्यागमन विभागका अनुसार नेपाल आउने भारत बाहेक अन्य देशका नागरिकले तोकिएको शुल्क तिर्नुपर्छ । चिनियाँ नागरिकले पनि १५० दिन निःशुल्क भिसा पाउँछन् । अन्य देशका नागरिकले भने १५ दिनको भ्रमणका लागि ३० अमेरिकी डलर, ३० दिनको ५० र ५० दिनको भ्रमण भिसाका लागि १२५ डलर तिर्नुपर्छ । यसबाहेक भिसाको म्याद थप्नुपरेमा प्रतिदिन ३ डलर तिर्नुपर्छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूले घुम्दा–घुम्दै समय अभाव भएको भन्दै भिसाको म्याद पहिले पनि थप्ने गर्थे । अध्यागमन कार्यालय पोखराबाट गत बर्ष फागुन महिनामा ६२२ जना पर्यटकले भिसाको समय थपेका थिए । यस वर्ष फागुन महिनामा ५०२ जना पर्यटकले म्याद थपेका छन् । अहिले म्याद थप्नुको मुख्य कारण नै कोरोना भाइरसको महामारी छ ।
छटपटीमै पर्यटन व्यवसायी
ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले पर्यटन सिजनमै कोरनाका कारण व्यवसाय डुब्ने अवस्थामा पुगेको बताए । ‘अहिले ९० प्रतिशत व्यवसाय डाउन छ,’ उनले भने, ‘पर्यटन व्यवसाय भूकम्प जाँदाको समयमा भन्दा पनि खस्किएको छ ।’
पोखराका पर्यटन व्यवसायी संघ संस्थाका प्रमुखहरूले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण व्यवसायमा असर परेको भन्दै अर्थमन्त्री युवराज खतिवडा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा बैंकमा तिर्नुपर्ने सावाँ र ब्याज एक वर्ष पछाडिका लागि सार्नुपर्ने, ब्याजदर एक अंकमा झार्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरूको ज्ञापनपत्र बुझेपछि अर्थमन्त्री खतिवडाले व्यवसायीको मर्का आफूले बुझेको भन्दै राहतका लागि सरकारले योजना बनाउने आश्वासन दिएको भुजेलले बताए ।
पश्चिमाञ्चल होटल संघ हानका अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण पर्यटकीय सिजनमै व्यवसाय धरापमा पुगेको बताए । ’बुकिङहरू रद्द भएपछि अहिले पोखरामा ५ देखि ७ प्रतिशत मात्र अकुपेन्सी छ,’ उनले भने, ‘होटलहरूबाट कामदार कटौती गर्नुपर्ने अवस्था आउँदैछ ।’ होटल संघका अनुसार पोखरा र आसपासमा गरी अहिले पर्यटकस्तरका ३० हजार बेड तयार छन् ।
पोखराको पर्यटन क्षेत्रमा ४ खर्ब लगानी भएको पर्यटनसँग सम्बन्धित संघसंस्थाको आकलन छ । हान अध्यक्ष तुलाचनले पर्यटन क्षेत्रमा आएको सन्नाटाले व्यवसायीलाई मात्र नभई समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेको बताए । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणासँगै पोखराका पर्यटन व्यवसायीले पूर्वाधारमा लगानी बढाएका थिए । ‘भ्रमण वर्ष पनि रद्द भयो । लगानी नै जोखिममा पर्यो,’ टान पश्चिमाञ्चलका अध्यक्ष भुजेलले भने, ‘पर्यटन व्यवसायीलाई मात्र नभई, किसानदेखि मजदुरसम्मलाई राहत पुग्ने गरी सरकारले राहत प्याकेज दिनुपर्छ ।’–सेतोपाटी

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here