समाचार

स्वास्थ्य मन्त्री ढकालद्वारा पक्षे अस्पताल अनुगमन

स्वास्थ्य क्षेत्रका समस्या कहालीलाग्दो ः ढकाल

पोखरा, २ माघ
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहितको एक टोली अस्पताल अनुगमन गर्न पोखरा आयो । उनीहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर अनुगमन गरे । उक्त अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मन्त्री ढकालसहितको टोलीलाई स्वागत ग¥यो ।
कार्यक्रममा मन्त्री ढकालले स्वास्थ्य क्षेत्रका समस्या कहालीलाग्दो रहेको बताएका छन् । उनले समस्यालाई सफा गर्नुको आफ्ना लागि अरु कुनै विकल्प नभएको स्पष्ट पारे । स्वास्थ्य क्षेत्र अन्यको तुलनामा ठूलो क्षेत्र भएकाले सुधारको अनुभूतिका लागि समय लागे पनि परिणाम आउने गरी सुधार गरेरै छाड्ने उनको प्रतिबद्धता थियो । मन्त्री ढकालले भने, ‘मेरो नेतृत्वमा अनुभूत हुने गरी गर्नेछु ।’
मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्दछ भन्ने मान्यताका साथ आफू अघि बढेको उनले बताए । शुरुआतमा मन्त्रालयको बेथितिलाई समाधान गरिने उनले उल्लेख गरे ।
उनले भने, ‘शुद्धीकरणका लागि प्रतिष्ठान तथा संघका अस्पताल छन् तर मन्त्रालयको बेथितिलाई सबैभन्दा पहिला ठीक ठाउँमा ल्याउनुपर्दछ, त्यसका लागि तल धमिलो पानीलाई सङ्लो बनाउने होइन मुहान सङ्लो बनाउँदा तल धमिलो हट्दै जान्छ भन्नेमा छु ।’ मन्त्री ढकालले चिकित्सकले २ वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प नभएको बताउँदै त्यसका कुनै सम्झौता नहुने स्पष्ट पारे ।
आर्थिक अनियमितता र भ्रष्टाचारको बिरासतमा रमाउने प्रवृत्तिले गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताललगायत अस्पताल थला पर्दछन् की भन्ने चिन्तामा आफू रहेको मन्त्री ढकालको टिप्पणी थियो ।
वीर अस्पतालमा रु ४६ करोड लागतमा किनिएका २ वटा मेसिन लामो समयदेखि जनताको सेवामा उपयोगमा आउन नसकेको र हाल बिग्रन्छ की भनेर सुरक्षाकर्मीको सुरक्षामा राखिएको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसमा अनियमितता रहेको उल्लेख गरे ।
‘मेसिन केका लागि किनेर जनताका लागि प्रयोग भएन भन्ने बारेमा जनताले बुझेका छन्, त्यसको अनुसन्धानका लागि समिति बनाउनु आवश्यक छैन । जे प्रयोजनका लागि किनिएको हो त्यो किन्दा खेरी नै प्राप्त भइसकेपछि बाँकी काम मेसिनबाट हुने कूरा भएन मैले प्रतिबद्धता गरेको छु, मेरो कार्यकालमा त्यस्तो बेथिति र अनियमितताहरु हुँदैनन्’, मन्त्री ढकालले भने ।
पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगातार ३ दिनभन्दा बढी बहिरङ्ग विभागको सेवा बन्द हुन नहुनेमा जोड दिए ।
स्वास्थ्य सचिव खगराज बरालले अस्पतालको अनुगमन गर्ने क्रममा आफूहरू पोखरामा रहेको बताउँदै सरकारले अराजकतालाई सहन नसक्ने भएकाले संघमा समायोजन भएका चिकित्सकहरू अब पनि खटाएको ठाउँमा हाजिरी नभए मन्त्रालयमा फिर्ता पठाउन र आग्रह गर्दै उनीहरूमाथि मन्त्रालयले कारवाही गर्ने बताए ।
प्रतिष्ठानका सिनेटर सदस्य आनन्दराज मुल्मीले अन्य प्रदेशका जनतालाई सेवा दिने गरी अस्पतालको सेवालाई तुलनात्मक रुपमा उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले पोष्ट ग्राजुएट (पीजी) को १७ सिटका लागि प्रवेश परीक्षाको लागि आवेदन दर्ता शुरु भएको बताउँदै आगामी दिनमा नर्सिङ, विडिएसलगायत विषयको अध्यापन गराउने योजना रहेको जानकारी दिए ।
अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले दरबन्दीअुनसार विशेषज्ञ चिकित्सक अभाव, बिरामीको भीडभाड बढेकोलगायत अस्पतालका समस्याका बारेमा जानकारी गराए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here