समाचार

स्व. ईश्वरलाल श्रेष्ठसहित दिग्गज व्यवसायीलाई कर्पोरेटको सम्मान

कर्पोरेट विजनेश म्यागाजिनले आफ्नो स्थापनाको १०औं वार्षिक उत्सव मनाएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा म्याजिनले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा नेपालका लिजेन्ड विजनेश पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाईम अचिभमेन्ट अवार्डबाट विभुषित गरिएको छ । उक्त सम्मान मन्त्री यादव तथा आयोजक कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाह तथा निर्देशक सुषमा महरा शाहले संयुक्त रुपमा प्रदान गरेका थिए ।

कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष स्वर्गीय ईश्वरलाल श्रेष्ठमा कर्पोरेट विजनेश मेमोरियल अवार्ड समर्पण गरिएको थियो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई कर्पोरेट एक्सिलेण्ट विजनेश लिडर अफ द ईअर र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई कर्पोरेट ईन्फ्लुन्सिङ बिजनेश लिडर अफ द ईअरबाट सम्मानित गरिएको थियो भने ज्योति ग्रुपका सौरभ ज्योतिलाई कर्पोरेट युथ विजनेश लिडर अफ द ईअरबाट सम्मानित गरिएको थियो ।

यसैगरी कर्पोरेट आइकन अवार्डबाट विबेक दुगड, शम्भु दाहाल, रबि श्रेष्ठ, धुव्र थापा, रमन महतो, कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रेमलाल महर्जन, दिल्ली बहादुर सिंह लगायतलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले सञ्चार माध्यमले निष्पक्ष, सत्य र सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताए । कर्पोरेटलाई निरन्तर निष्पक्ष र सत्य समाचार उजागर गर्न कटिबद्ध भएर लाग्न उनले आग्रह गरे ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाप्रति कुनै गुनासो र उजुरी गर्नु परे, मिडियाका कारण भएका मानहानी जस्ता मुद्दामा अब अदालत जान नपर्ने बताए । उनले प्रेस काउन्सिलबाटै छिटो र सहज रुपमा न्याय पाउन सकिने भन्दैं मिडियाहरुले आचार संहिता अनुरुप चल्न सके यस क्षेत्रको साख सधंै उच्च रहने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सञ्चार माध्यममा आएका नकारात्मक समाचारले गर्दा विकास निर्माणका काममा ढिलाई भएको बताइन् ।

राणाले अरुण तेस्रो जलविद्युत आयोजना सञ्चार माध्यममै आएका समाचारका कारण २० बर्ष पछि धकेलिएको दावी गरिन् । उनले देशकै अर्थतन्त्रमा ठूलो महत्व राख्ने आयोजनाका बारेमा लेख्दा सञ्चार माध्यमहरु संयमित भएर लेख्नुपर्ने धारणा व्यक्त गरिन् ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा सकारात्मक पक्षलाई स्थान दिंदा त्यसको उपदेयता बढने औल्याउँदै संचारगृहले सतही हिसाबले समाचार सम्प्रेषण गर्दा देशको ब्यवसायिक क्षेत्रले कठिनाइको सामना गर्दै आउनु परेको बताए ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, युवा ब्यवसायी सौरभ ज्योती, कर्पोरेट म्याग्जिनका सल्लाहकारद्वय प्रेमलाल महर्जन र विप्लवमान सिंहले बोलेका थिए ।

कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवलजंग शाहले कर्पोरेट बिजनेश म्यागाजिनले विभिन्न अफ्ठ्यारा र चुनौती पार गर्दै हालको अवस्थासम्म आइपुगेको भन्दै १०औं बर्षसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा कर्पोरेट मिडिया ग्रुपकी निर्देशक सुष्मा महराले स्वागत र सम्पादक सरोज ओझाले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here