समाचार

‘हुर्काउनै मुस्किल चार अमूल्य उपर’

पोखरा, ४ माघ
स्याङ्जाका गौरव प्रधानलाई १ सन्तानको चाहान थियो । यसअघि नै ५ वर्षको छोरा भएकाले सकेसम्म १ छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैं सोचे जस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा ३ सन्तान छन् भन्ने कुरा ।
विगत ५ वर्षदेखि दुबइमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो । पुतलीबजार नगरपालिका–१ का प्रधानले बुबाआमाको साथ श्रीमती सुनितालाई छोडेर वैदेशिक रोजगारीमा फर्किए । प्रत्येक महिनाको भिडियो एक्सरेको रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिइरहेका प्रधान २० दिनअघि मात्र नेपाल आए ।
प्रधानले पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर आए । ३४ हप्ता ४ दिनमा शुक्रबार बिहान ९ बजे डा. महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट ४ सन्तान निकाल्यो । जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका ४ सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ । तर, आशावादी छन् दम्पत्ती ‘यो भगवानको अमूल्य उपहार हो, हामी निकै खुशी छौं । तर, हुर्काउनै मुस्किल छ ।’
प्रधान भन्छन्, ‘कम तौलका कारण बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता त छ, तर कामना गरेको छांै, पक्कै सबै राम्रो नै हुनेछ ।’ जम्मा ५३ दिनको बिदामा आका प्रधान बिदा थप्न नमिल्ने समस्याले पनि पिरोलिएका छन् । ‘भिसा रिन्यू गर्नुपर्छ । अहिले बिदा थप्न पनि मिलेन’, उनले भने, ‘सन्तानको माया उस्तै छ । कम तौल भएकाले विशेष स्याहार गर्नुपर्छ, तर आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु । नजाउ कसरी पाल्नु ? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई ।’
अहिले बच्चालाई सघन कक्षमा राखिएको छ । अस्पतालको खर्चको बारेमा पनि प्रधानले केही नसोचेको बताए । ‘कति दिनसम्म राख्नुपर्ने हो खै ? कति खर्च लाग्ने हो केही थाहा छैन । अहिलेसम्म अस्पताल र डाक्टरहरूबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन’, उनले भने ।
४ सन्तानबारे डा. महेन्द्रराज पाण्डेसंग जिज्ञाशा राख्दा भिडियो एक्सरेमा ३ वटा देखिएको तर गर्भमा ४ वटा सन्तान रहेको बताए ।
कतिपय अवस्थामा बच्चा खप्टेको हुने, अंग नदेखिन सक्ने, देखिँदा ३ वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्ने डा. पाण्डेको तर्क छ । उनले ८ लाख मानिसमध्ये १ महिलाले ४ सन्तान जन्माउने गरेकोे बताए । कृत्रिम गर्भाधानमा जुम्ल्याह, तिम्ल्याहा, चम्ल्यामा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनको भनाइ छ । उनका अनुसार गर्भाधानमा सामान्यतया १ शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गदर्छ ।
उनले चम्ल्याहा शिशुको तौल कम हुने भएकाले विभिन्न समस्या देखिनसक्ने बताए । कम तौलका कारण श्वासप्रश्वासमा समस्या देखिन सक्छ, त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले संक्रमण हुने सम्भावना बढी हुने डा. पाण्डे बताउँछन् ।
‘अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा हुँदैन, शिशुलाई सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्छ र धेरैले छुने गर्दा संक्रमण हुन सक्छ’, उनले भने । डा. पाण्डेले अहिले बच्चालाई सघन कक्षमा सलाइन पानी दिएर राखिएको बताए । बच्चालाई स्तनपान गराउन सक्ने नभएसम्म बच्चालाई लान नमिल्ने उनको भनाइ छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here