पत्रपत्रिकाराष्ट्रिय

पूँजीवाद र साम्यवाद संकटमा ः डा.भट्टराई

पोखरा, ३१ साउन
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूँजीवाद दर्शन विश्वभर ठूलो संकटमा परेको, यूरोप अमेरिका फाँसिवादतर्फ गईरहेको बताएका छन् । उनले कम्युनिष्टको साम्यवादी प्रणाली चरम संकटमा परेको अवस्थामा समाजवादी पार्टीको वैकल्पिक वैचारीक दर्शनले विश्व नै तरंगित भएको बताए ।
‘कम्युनिष्ट प्रणाली सर्वहारा अधिनायकत्वको नाममा सबै अधिकार खोसेर जनवादी केन्द्रीयता लाद्ने, कार्यकर्तालाई भेडा बाख्रा जस्तोे बनाउने, केहि नेता मात्र अगाडि आउने खालको छ’, उनले भने, ‘स्टालिनवादी साम्यवादी प्रणाली चरम संटमा परेको छ । त्यसैले नेपालमा संघीय समाजवादी पार्टीको दर्शन विश्वमै नयाँ वैचारिक दर्शन दिने प्रयत्नसहित आएको हो ।’
समाजवादी पार्टी गण्डकी प्रदेशको पूर्णता, कास्की जिल्ला कमिटी र पोखरा महानगर समितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रममा डा.भट्टराईलेले पूँजीवाद र साम्यवादको वैचारिक विकल्पको खोजी संसारभरी भईरहकेको बेलामा समुन्नत समाज निर्माणको आवश्यक्ता अनुसार आफूहरू अघि बढेको बताए ।
‘नेपाललाई २ दशकभित्र संसारको धनी देश बनाउन सकिन्छ । त्यो लक्ष्य पूरा गर्न संघीयता, सुशासनको जगलाई टेकेर समृृद्धि प्राप्त गर्ने हा । समृद्धिको सपना हामी हाम्रो योजनाले पूरा गर्छाैं । तर उदेक लाग्छ’, डा. भट्टराईले भने, ‘हाम्रा देशका मुख्य नेता छुट्टी मनाउन दुवई र प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान्छन् । के यस्ता मान्छेले समृद्धि ल्याउँछन् ?’
समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कुनै पनि बहानामा समावेशीतालाई अन्त्य गर्न नपाईने बताए । लोक सेवा आयोगले निकालेको विज्ञापन समावेशी चरित्रको मात्र नभई संघियता र लोकतन्त्र विरुद्धको भएको जिकिर गरे ।
‘हाम्रा लागि सरकार प्राथमिकता होईन । अहिले पनि हामीले अधिकार पूर्णरुपले प्राप्त गरेका छैनौं । त्यसका लागि सडक, संसद र सरकारमा गलत कार्यको विरोध गरिरहेका हौं’, यादवले भने ।
‘संघीय प्रणालीमा गएपछि सबै समुदायको समानु्पातिक समावेशी, साझेदारी र प्रतिनिधित्व खोजेको हो’, यादवले भने, ‘मधेशलाई एकल जातीय राज्य होईन बहुल राष्ट्रिय राज्य र बहुल जातीय, सबैको सम्मान र स्वाभिमानको रक्षा गर्ने खालको बनाउने भनेको हा । यति गरे राष्ट्रिय एकता बलियो हुन्छ ।’
‘नेपाललाई समृद्ध र सम्पन्न मुलुक बनाउन सकिन्छ । हामीले जल, जमिनको अधिकतम् प्रयोग गर्नुपर्छ । उत्पादनमा ध्यान दिने हो भने गर्न नसकिने केहि छैन’, उनले भने, ‘तर पहिले मुलुकमा भेद्भाव समाप्त पार्नुपर्छ । महिला बालबालिकामाथिको उत्पीडन र भ्रष्टाचारको अन्त्य गरिनुपर्छ ।’

समाजवादी पार्टी गण्डकीका अध्यक्ष मोती रिजालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षद्वय डा. भट्टराई र यादवले गण्डकी समितिका ९९, जिल्ला समिति कास्कीका ८१ र पोखरा महानगर समितिका ७५ सहित २ सय ५५ जनालाई सपथ ग्रहण गराए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here