पत्रपत्रिकाराष्ट्रिय

रामकृष्ण ढकालको विवाद, भन्छन्, मानहानीमा जान सक्छु

ललितपुरस्थित श्री लालीगुराँस सहकारीले गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले करिब ५ करोड ऋण नतिरेको भन्दै एक दैनिक पत्रिकामा सूचना निकाल्यो । ९ वर्ष अघि ढकालले श्रीमती निलमका नाममा उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए । घर किन्न लिएको उक्त रकमको ब्याज र सावाँ तिर्न नसक्दा ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।  तर, लिलामीको मूल्यले पनि ऋण असुलउपर नभएको सहकारीको भनाइ छ । रामकृष्णले भने ४ वर्षअघि नै ऋण सल्टाइसकेको बताएका छन् । सार्वजनिक गरिएको सूचनामा ऋण तिर्ने बारे केही उल्लेख गरिएको छैन तर ढकालले सहकारी विरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरूमार्फत धम्क्याएको आरोप लगाइएको छ ।

सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको आरोप ढकालको रहेको छ । त्यस समयमा आफ्नो आर्थिक अवस्थामा गिरावट आउँदा समयमा किस्ता तिर्न नसकेको स्विकार्दै ढकालले घर बेचेर र बाँकी रकम पनि किस्तामा तिरेको बताएका छन् । यता संस्थाका प्रमुख सुरेन्द्र भण्डारी भने कर्जा लिएको केही महिनापछि उनीहरू दुवै सम्पर्क विहीन बनेको दाबी गर्छन् । ‘हामीले बारम्बार ताकेता गर्दा पनि सावाँ र ब्याज दुवै उहाँहरूले तिर्नुभएन,’ भण्डारीले भने, ‘त्यसपछि पत्रिकामा सूचना निकाल्न बाध्य भयौँ ।’ कानुनतः तत्कालीन समयमा कार्यान्वयनमा रहेको सहकारी ऐन अनुसार यदि धितो लिलामी गर्दा ऋणको परिपूर्ति भएन भने कुनै पनि सहकारीले ऋणदाताको अन्य सम्पत्तिबाट पनि असुलउपर गर्न सक्छ । तर, त्यसको छिनोफानो एक वर्षभित्रै हुनुपर्छ । धितोबाट ऋण असुलउपर हुन नसकेमा अरू जायजेथा एक वर्षभित्र लिलाम विक्री गरी असुलउपर गर्नुपर्ने हुन्छ । तर एक वर्षसम्म सहकारीले कतै मुद्दा दायर गरेन । सहकारीका भण्डारी भने चार वर्षमा पनि आफूहरूले ताकेता गर्दा पनि केही सिप नलागेको बताउँछन् । एकातिर सहकारी को यस्तो दाबी अर्का तिर ढकालको नाम र पहिचान ।

यसै अन्योल र भ्रम चिर्दै ढकालले एक कार्यक्रममा घटनाको विस्तृत जानकारी दिँदै भने अदालतबाटै आफू ऋण मुक्त भएको फैसला गरेको र कानुनी प्रक्रिया पुरा गरेकाले त्यसैको लागी संस्था धाइरहनु पर्ने आवश्यक नभएको र आफू एक कलाकार र बाहिर कार्यक्रम लगायत सार्वजनिक स्थानमा सहभागी भइरहने मान्छेलाई बेपत्ता भएको आरोप लगाउनु मनासिब नभएको बताउँछन् । सहकारीले पहिला पनि आफू र आफ्नो परिवारलाई मानसिक तनाव दिएको र त्रासमा बाँच्नु पर्ने स्थिति बनाइदिएको र अहिले आएर पनि मानहानी गर्ने उद्देश्यले नाम सार्वजनिक गरेकोमा आफू निकै चिन्तित भएको बताए । उनले थपे ‘चार वर्ष ढुक्कले बस्ने अनि अहिले एकाएक विवाद निकाल्नुको आशय भनेको केवल मलाई विवादमा मुछ्नु मात्र हो ।’ पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानिमा जान सक्ने ढकाल बताउँछन् ।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here