खेलकुद

कुस्तीको विकासका लागि भारत सहयोग गर्न तयार

 

पोखरा, २५ भाद्र ।
एशिया कुश्ती संघका उपाध्यक्ष ब्रजभूषण शरण सिंहले नेपाली युवाले खेलकूदमा राम्रो प्रगति गर्न सक्ने बताएका छन् । नेपाल कुस्ती संघ र भारतीय कुस्ती संघले विहिबार पोखरामा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले खेलाडी उत्पादन र पूर्वाधार विकासमा पर्याप्त ध्यान दिन सक्नु पर्नेमा जोड दिए । उनी भारतको लोकसभा सदस्य, भारतीय कुस्ती संघ एवम् सार्क कुस्ती संघका अध्यक्ष समेत हुन् ।

भारतको कुस्ती विश्वमा उत्कृष्ट स्थानमा रहेको चर्चा गर्दै उनले नेपालले पनि त्यस प्रकारको सफलता पाउन सक्ने बताए । विशेषगरी कुस्ती खेलका लागि शारीरिक रुपमा तन्दुरुस्त युवा आवश्यक पर्ने भन्दै नेपालमा त्यसको सम्भावना धेरै रहेको उनको भनाइ छ । ‘कुस्ती प्राकृतिक खेल हो । संसारमा कुनै न कुनै रुपमा कुस्ती हुँदै आएको छ ’ उनले भने ‘नेपालका युवाको हात खुट्टा धेरै बलिया छन् । यसको फाइदा कुस्तीमा उठाउन सकिन्छ ।’ नेपाली युवामा मेहनत र परिश्रम गर्ने क्षमता रहेको उनले बताए । कुस्ती खेल साधारण र सामान्य परिवारका युवाहरुले खेल्न भन्दै थप प्रशिक्षणका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । हरेक वर्ष नेपालबाट केही युवाहरुलाई कुस्ती खेलको प्रशिक्षणका लागि भारतमा सहयोग गरिँदै आइएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल कुश्ती संघका अध्यक्ष राज मोहम्मद अंसारीले नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकूद प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको तयारी तिव्र भइरहेको भन्दै नेपालले त्यसको सफल आयोजना गर्ने पनि बताए । विभिन्न स्थानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको बताए । प्रतियोगिताका केही खेलहरु पोखरामा हुने उनले जानकारी दिए ।

 

कुस्ती खेल आयोजना स्थल पोखरा हुन सक्ने भन्दै त्यसको तयारी स्वरुप असोजको पहिलो हप्तामा नेपाल भारत वीच मैत्रीपूर्ण कुस्ती खेल गर्न तयारी थालिएको पनि बताए । नेपाल कुस्ती संघको निमन्त्रणामा काठमाण्डौं र पोखराको भ्रमण आएका भारतीय कुस्ती संघका अध्यक्ष सहितका पदाधिकारीले मैत्रीपूर्ण प्रतियोगिताले अनुभव आदन प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

भारतीय भ्रमण दलमा संघका सहायक सचिव विनोद तोमर, भारतीय किसान मोर्चाका राष्ट्रिय कार्यकारिणी सदस्य तथा भारतीय जनता पार्टीका कार्यकारिणी सदस्य अमिय भूषण, नेपाल भारत मैत्री संघका अध्यक्षी राज कुमार सिंधी, भारतका युवा व्यवसायी समाजसेवी कुन्दन सिह सहभागी थिए । पोखरामा कार्यक्रमको व्यवस्थापन साम्बो र आइटिएफका राष्ट्रिय खेलाडी सुदिप आचार्यले गरेका थिए ।

सो टोलीले युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन तथा खेल पदाधिकारीहरुलाई भेटेको थियो । विहिबार पोखरा रंगशालाको समेत भ्रमण गरेको नेपाल कुस्ती संघले जानकारी दिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here