खेलकुद

गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने

पोखरा, २६ पुस
नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा यही पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं माछापुच्छ«े कप गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदैछ ।
पुरुषतर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिलातर्फ भने ३५, ४०, ४५ र ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख दिपकबहादुर गोदारले बताए । उनका अनुसार विगतको भन्दा यो वर्ष केही तौल समूह बढाइएको छ । विशेष गरी साना तौल समूहमालाई प्राथमिकता दिइएको सुनाए ।
पुस २९ गते पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । अधिकांश तौल समूहको क्वार्टरफाईनलसम्मका खेलहरु टुंग्याईने छ । सेमिफाईनल र फाईनल खेल ढुंगेसाँघुको मेलामै आयोजना गरेर प्रतियोगिता टुंग्याईनेछ । माघे संक्रान्ति नजिकिंदै गर्दा ढुंगेसाँघुमा मेला भर्न सर्वसाधारणको भीड हुन्छ । त्यही भीडमा खेलकुदको गतिविधिले पनि महत्वपूर्ण स्थान लिन्छ । मेला भर्दै खेलकुद प्रतियोगिता नियाल्ने अवसर सर्वसाधारणले पाउँछन् ।
पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओइरिन्छन् । मेलाकै दिन संक्रान्तिमा वर्षेनी क्योकुशिन कान कराँते संघ कास्कीले कराँते च्याम्पियनसिप गर्दै आएको छ ।
प्रदेश प्रमुख गोदारका अनुसार प्रतियोगितामा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, तनहुँ र गोरखा जिल्ला १५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र चौथो हुने खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।
संघका अध्यक्ष बेलबहादुर थापाका अनुसार २ दिने प्रतियोगिताका लागि ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट दुई लाख रुपैयाँ बचत गर्न सकिने विश्वाससमेत संघले लिएको छ । बचत रकमबाट खेलाडीलाई अत्यावश्यक म्याट, प्याड र ग्लोब लगायतका सामान खरीद गरिने संघ उपाध्यक्ष एव प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here