काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।
सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गरे । उनले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । “हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।
करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताए । “हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ”, उनले भने, “हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।” विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उनले उल्लेख गरे । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए। गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ।
‘एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । यसरी हिसाब गर्दा गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ। गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।
Leave a Reply