खेलकुद

पारा टेबलटेनिस प्रतियोगता शुरु

पोखरा, ४ पुस
पोखरामा राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगता शुरु भएको छ । शारीरिक अपांग (पारा) टेवल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आयोजित प्रतिस्पर्धामा ६ जिल्लाका ९० खेलाडी सहभागि छन् । २ दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ५ इभेण्टमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा कास्की, दाङ, रोल्पा, विराटनगर, धनगढी र काठमाडौंका खेलाडीको सहभागिता रहेको छ ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले शनिबार पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजित प्रतियोगिताको उदघाटन गर्दै हललाई अझै व्यवस्थित गरी टेबल टेसिनको लागि उपयोग गर्न सकिने बताए । उनले पूर्वाधारलाई व्यवस्थित रुपमा बनाई खेलाडीका लागि खेल्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । बोर्ड सदस्य गुरुङले टेबल टेनिसका लागि परिषदले तत्कालै एउटा बोर्ड उपलब्ध गराउने संघलाई विश्वास दिलाए ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले शारीरिक रुपमा अपांग भएपनि सबल रुपमा खेल खेल्न सकिने बताउँदै त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले बातावरण तयार परिदिनुपर्नेमा जोड दिए । उनले टेबल टेनिसको लागि उपयुक्त नहुँदा व्याडमिन्टनले उपयोग गर्दै आएको पुरानो हललाई टेबल टेनिसलाई उपलब्ध गराउन बोर्ड सदस्यमार्फत आग्रह समेत गरे । व्याडमिन्टन संघले आफनै छुट्टै हल निर्माण गरेपछि पुरानो हल भने खाली छ ।
आईतबार टुंगिने प्रतियोगितामा स्ट्याण्डिङ तर्फ महिला र पुरुष, ह्वील चियरतर्फ महिला र पुरुषले प्रतिस्पर्धा गर्नेछन् । अन्तिममा च्याम्पियन अफ दि च्याम्पियन्स समेत घोषणा गरिने पारा टेबल टेनिस प्रतियोतिगाका संयोजक दिपक केसीले बताए । उनका अनुसार स्ट्याण्डिङ र ह्वीलचियर विजेताले अन्तिममा च्याम्पियन अफ दि च्याम्पियन्सको प्रतिस्पर्धा गर्ने छन् । विजेताले ट्रफीसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेतालाई नगद पुरस्कार समेत प्रदान गरिने छ ।
पहिलो दिनको प्रतिस्पर्धाबाट ह्वील चियर महिलातर्फ काठमाडौंका चारै जना खेलाडी अन्तिम चारमा प्रवेश गर्दै बर्चस्व कायम गरेका छन् । लाली तामाङ, संगीता माझी, सोनिका ढकाल र निर्मला भण्डारी सेमिफाईनल प्रवेश गरेका हुन् । यसैगरी स्ट्याण्डिङ तर्फको महिला प्रतिस्पर्धामा दाङका अस्मिता बुढा र निर्मला ओली तथा काठमाडौंका अनु थापा र विनिता मगर सेमिफाईनल प्रवेश गरेका छन् ।
स्ट्याण्डिङ पुरुष तर्फको काठमाडौंका दिपक नकलले पोखराका विशाल गर्वुजालाई ११–७, ११–४ र ११–५ को सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । त्यसैगरी गरी विराटनगरका स्वीकृत न्यौपानले काठमाडौंका कृष्ण सदालाई ११–९, १२–१०र ११–६ को सेटमा पन्छाए । पोखराका अनुप गरुङलाई रोल्पाका लोकबहादुर केसीले बेष्ट अफ फाईभ सेटमा प्रतिस्पर्धा गर्दै पराजित गरे ।
केसीले गुरुङलाई ११–७, ११–५, ३–११, ११–१३ र १२–१० को अत्यन्तै प्रतिस्पर्धात्क सेटमा जित निकालेका थिए । यसैगरी ह्वील चियर प्रतिस्पर्धामा भने दाङका सुरेश विकले धनगढाीका सुरज चौधरीलाई ३–२ सेटमा पन्छाएका थिए । काठमाडौंका केशव थापाले धनगढीका खगिराम थापालाई ११–८, ११–३ र ११–४ को सेटमा पराजित गरेका थिए । सेमीफाईनल र फाईनल प्रतिस्पर्धा आइतबार हुनेछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here